तीनवटा बोइङमा आउने तयारी
बसाइ छ, जम्मा एक दिन र एक रातको । तर, तयारी यस्तो कि, काठमाडौंको चप्पा–चप्पा बुझिँदै । चिनियाँ राष्ट्रपति सि जिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारी क्रममा चीनले सुरक्षा स्थिति अध्ययन गर्न दिनैपिच्छेजस्तो बेग्लाबेग्लै टोली काठमाडौं पठाइरहेको छ ।
त्यसक्रममा बेइजिङबाट एकजना जर्नेलको नेतृत्वमा १७ जनाको फौज सोमबार काठमाडौं ओर्लिएको छ । सोल्टी होटलमा डेरा जमाएको टोलीले आएकै दिन साँझपख अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, भिआइपी, भिभिआइपी लाउञ्ज, आगमन र प्रस्थान कक्षको अवलोकन गरिसकेको छ । चिनियाँँ विदेशमन्त्री वाङ् यी फर्किएलगत्तै उताबाट आउने टोलीहरु थपिन थालेका हुन् ।
परराष्ट्र मन्त्रालयमा सधैँजसो चिनियाँ र नेपाली अधिकारीबीच बैठक चलिरहेको छ । चिनियाँ पक्षले राष्ट्रपतिलाई काठमाडौं उतार्दा कतिवटा जहाज, कति मानिस ल्याउनेदेखि कसलाई कहाँ राख्ने, हिँड्डुल वा भेटघाटका तालिका कति र कसरी तय गर्नेसम्मका विषयबारे छलफल गरिरहेको छ । यस्तो सरोकार सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर तीनजनाको छुट्टै टोलीले राखेको हो । चीनले ८०० सिरिजको तीनवटा बोइङ ७४७ जहाजसहित राष्ट्रपति जिनफिङलाई अवतरण गराउने चाहना व्यक्त गरेको छ । तर, यहाँ त्यस्तो जहाज अवतरण गराउन मुस्किल हुने स्पष्ट पारिएको बताइन्छ । नेपालसँग भएको र यहाँको विमानस्थलमा सहजताका साथ अवतरण हुनसक्ने ७४७ बोइङ ‘फोर ई’ क्याटागोरीको हो, तर चिनियाँ जहाज भने ‘फोर–फोर एफ’ क्याटागोरीका छन् ।
हाम्रो विमानस्थलमा ४ सय सिरिजको ७४७ बोइङलाई अवतरणमा समस्या छैन । तर, चीनबाट आउने भनिएको ८ सय सिरिजका बोइङका पखेटा लामा हुन्छन् । त्यसकारण यहाँको साँघुरो विमानस्थलमा समस्या हुनसक्ने नेपाली अधिकारीले बताएका हुन् । चिनियाँ पक्षले अहिलेसम्म राष्ट्रपतिसहित उक्त टोलीमा आउनेलाई राख्ने होटलहरुको पनि टुंगो लगाइसकेको छैन । कुन होटल उपयुक्त हुन्छ र कसलाई कहाँ राख्ने भन्नेबारे अलग्गै टोलीले अध्ययन गर्ने छ ।
यसैबीच, पहिलो चरणको चिनियाँ सहयोगको सैन्य सामग्री काठमाडौं ल्याइएको तीन साता नबित्दै चीनले दोस्रो चरणको सामग्री पठाइसकेको छ । ती सामान लिन काठमाडौंबाट नेपाली सेनाका ट्रकहरु केरुङ नाकामा पुगेका छन् । लगत्तै तेस्रो चरणका सामान पनि आउँदै छन् ।
टिप्पणीहरू