रेणु दाहालले जुन ठाउँ रोजिन्
भरतपुरलाई स्मार्ट सिटी बनाउने योजना छ । त्यसका लागि बजार क्षेत्रलाई सफा–व्यवस्थित पार्नु पनि महानगरपालिकाको प्रयास हो । भरतपुरस्थित नारायणगढ चितवन जिल्लाकै प्रमुख बजार क्षेत्र मानिन्छ । यहाँका फुटपाथ व्यवसायीलाई हटाउन महानगरपालिकाले धेरै अघिदेखि बल गरेपनि पूर्णरूपमा हटिसकेको छैन ।
अझै पनि फुटपाथ व्यवसायीहरू सडकपेटीमा देखिन्छन् । कोही डोकोमा स्याउ, सुन्तला, केरा, अंगुरलगायतका फलफूल बोकेर पसल थापिरहेका हुन्छन्, कोही मकै पोलेर बेचिरहेका देखिन्छन् त कोही चटपट बेचिरहेका पाइन्छन् । कोही त्रिपाल एवम् बोरा ओछ्याएर जुत्ता, चप्पल, ब्रा, पेन्टी, मोजा, कपडालगायत बेचिरहेका भेटिन्छन् । हरेक दिनजसो नगरप्रहरी आएर लखेटिरहेको हुन्छ । लुकामारी खेलेजस्तो । नगरप्रहरी आउँदा फुटपाथका व्यवसायीहरू डोको, पोको उठाएर भाग्छन्, लुक्छन् । नगरप्रहरी गएपछि फेरि सडकपेटीमै ओइरिएर आ–आफ्नो पसल थाप्छन् । कतिपटक त नगरप्रहरीले भेटेका जतिको सामान खोस्दै गाडीमा हालेर लाने गरेको छ, त्यैपनि फुटपाथमा व्यवसाय गर्न छोडेका छैनन् ।
फुटपाथको विकल्पमा महानगरपालिकाले नारायणगढ बजारदेखि केही पर बालकुमारी कलेज अगाडिको खुल्ला स्थानमा ठाउँ नदिएको होइन । टहरा पनि बनाइएको छ । व्यवसायीहरू त्यहाँ गए तर व्यवसाय नै नचलेपछि कोही लाखापाखा लागे त कोही फुटपाथमै फर्किएर व्यापार गर्दैछन् । एक दुई जनाचाहिँ त्यही ठाउँ बन्ने आशमा कुरेर बसेका पनि भेटिए । जेहोस्, बालकुमारी स्कूल पछाडिको त्यो ठाउँ अहिले सुनसान जस्तै छ । टहरा खालि छ, कति त भत्किसके ।
फुटपाथमा व्यवसाय गरिरहेकाहरूसित सोधपुछ गर्दा महानगरपालिकालाई केही शुल्क तिरेर भएपनि फुटपाथमै व्यापार गर्न पाए हुन्थ्यो भन्ने माग छ भने कोही महानगरपालिकाले अर्काे कुनै उपयुक्त ठाउँ दिए जान तयार रहेको बताउँछन् । नगरप्रहरीसित लुकामारी खेल्नु परेपनि जसोतसो निर्वाह चलिरहेकै हुँदा अहिले पनि ठिकै भइरहेको कोही–कोहीको भनाइ छ । केही दिनअघि शहीदचोक, मिलनरोडमा सडक किनारमा बसेर डोकोमा अंगुर बेच्दै गर्दा भेटिएका भरतपुर–२, क्षेत्रपुर बस्ने शिव पौडेलले दिनको चार–पाँच सय कमाइ हुने बताए । यसैले बिहान–बेलुकाको छाक टार्ने गरेको उनको भनाइ थियो । भरतपुर महानगरपालिकाले छुट्याइदिएको स्कूल पछाडिको ठाउँमा जाँदा व्यवसाय नचलेर २० हजार घाटा लागेको शहीदचोकमै डोकोमा सुन्तला बेच्दै गरेकी बेलटाँडी बस्ने सीता थापाले बताइन् । नगरप्रहरीले आएर समात्यो भने कम्तीमा दिनको २–३ हजार घाटा लाग्ने उनीहरू बताउँछन् ।
नगरप्रहरीले समातेर लगेको सामान पछि फिर्ता दिन्छ कि दिँदैन भनी सोध्दा ब्रा–पेन्टी, मोजाको व्यापार गर्दै रहेकी नीलममाया थिङले भनिन्, ‘मेरोचाहिँ फिर्ता दिएको छैन, अरूको भन्न सक्दिनँ, एकचोटि १२ हजारको लग्यो’, उनले थपिन्, ‘दुईचोटि पुलिसले लग्यो, दुईचोटि नगरप्रहरीले लग्यो ।’ फुटपाथका व्यवसायीलाई धपाउन केहीअघि महानगरपालिकाले प्रहरी परिचालन गरेको बुझिएको छ । त्यसअघि पहिला–पहिला नगरपालिकाले व्यवसायीसँग शुल्क लिएर फुटपाथमा व्यापार गर्न छुट दिइरहेको थियो । ‘रेनुले जितेर आएपछि बाटो सफा, क्लियर गर्ने, फराकिलो बनाउने भन्ने कुरो हो’, सर्लाही घर भई गैंडाकोटमा बस्ने निलममायाले भनिन्, ‘हामी सटर लिएर बस्न सक्दैनौं ।’ विगत तीन वर्षदेखि फुटपाथमा व्यवसाय गर्न थालेको बताउने उनी भन्छिन्, ‘यही ठाउँमा दिनको यति शुल्क भन्ने तोकेर व्यापार गर्न पाए हुन्थ्यो ।’ फुटपाथ व्यवसायी संघ भएको, नभएकोबारे सोध्दा व्यवसायीहरूले थाहा नभएको बताए । फुटपाथमा व्यापार गर्ने कोही त श्रीमान््ले छाडेर बालबच्चा पाल्दै बसेको पनि भेटिए ।
१२/१४ वर्षदेखि फुटपाथमा व्यापार गर्न थालेको बताउने एक महिलाले भनिन्, ‘यहाँ सबै एकनासको छैनौं, कोही असाध्यै दुःख पाउने छन्, कोही सुख पाउने पनि छन् ।’ उनले भनिन्, ‘नगरप्रहरी आएर भाग्दा गाडीले हानेर मरिन्छ कि भन्ने पीर छ, नगरप्रहरी आयो भने झ्याप्पै आउँछन्, कुनै बेला गाडी हिँडिरहेको हुन्छ, थाहा हुँदैन । यसैगरी भाग्दा चौबीसकोठीमा एकदिन एउटाको हात भाँच्चियो ।’ रहरले सडकमा व्यवसाय गर्न आएको नभई बाध्यताले आएको बताउँदै उनकी छोरी रञ्जना न्यौपानेले भनिन्, ‘पढ्यो, जागिर पाइँदैन ।’ उनी पनि आमासँगै फुटपाथमा बसेर फलफूल बेच्दै थिइन् । ‘मेरी छोरी व्याचलर फस्र्ट इयर पढेकी हो, बाटोमा आएर व्यापार गर्नुपरेको छ’, आमाचाहिँले भनिन् । महानगरपालिकाले अलि व्यापार हुने ठाउँ दिए जान हुने तर त्यो बालकुमारी स्कूल पछाडि त व्यापारै नहुने उनले बताइन् । ‘यता नि घर छ, उता नि घर छ, जेलमा हालेजस्तो, सुधार केन्द्रमा राखेजस्तो, नामै गोर्खाली सुधार केन्द्र चोक’, उनी भन्छिन्, ‘फुटपाथका व्यवसायी जतिलाई दिएको ठाउँ त्यही हो, गा’को भए नि अट्ने थिएन, त्यैपनि गइयो, दुई–चार दिन बसियो तर बोहनी पनि भएन । हामी दिनभर कमाएर बिहान(बेलुकीको छाक टार्ने, छोराछोरीलाई पढाउने–लेखाउने हो, होलसेलबाट उधारो समान ल्याएर बेच्ने, बेचेर कमाएर साहुलाई तिर्ने हो । व्यापारै नभएपछि कसरी बस्न सक्नु त्यो ठाउँमा ?’
धेरैजसो फुटपाथ व्यवसायीले तुलोमा ग्राहकलाई ठगी गर्दै आएको समेत उनले बताइन् । घडी काँटामा घटाएर जोख्न मिल्ने हुँदा प्रायः फुटपाथ व्यवसायीहरूले तीन पाउलाई एक किलो जस्तो देखाएर बेच्ने गरेको बुझिएको छ । आफूलेचाहिँ ग्राहकलाई नठग्न पोर्टेबल इलेक्ट्रोनिक स्केल राखेको उनले देखाइन् । अरूले झुक्याइरहेको कुरा ग्राहकलाई देखाउन आफूले घडी काँटा पनि राखेको उनले देखाइन् ।
बालकुमारी स्कूलपछाडि स्वरोजगार सस्तो बजार नाम दिएर महानगरपालिकाले छुट्याइदिएको ठाउँमा भेटिए, ज्ञानबहादुर बिक । एउटा टहरामा त्रिपालले छोपिएको अवस्थामा जुत्ता, चप्पल, कपडाहरू राखेका थिए उनले । जहाँ हाटबजार लाग्छ, त्यहीँ लगेर व्यापार गर्ने । उनले भने,‘शहीदचोक, लायन्सचोकबाट महानगरपालिकाले व्यवसाय गर्ने ठाउँ दियो भनेर हामी हाँसीखुशी यहाँ आयौं । आएर व्यापार पनि लगाइयो । खाजा, कपडा, जुत्ता, चप्पल, फलफूल सबै राखियो । तर किन्ने मान्छे नै भेटिएनन् । कलाकार बोलाएर मेला पनि लगायौं चल्छ कि भनेर तर चलेन’, गुल्मी घर भई लायन्सचोकमा परिवारसहित बस्दै आएका विकले भने, ‘कोही मान्छे यस्तो पनि छन् बिहान व्यापार गरेर साँझ चुल्हो जलाउने । हुन त घर–जग्गा जोड्ने पनि छन्, छैनन् भन्दिनँ म ।’ चार वर्षजति शहीदचोकको फुटपाथमा खाजाको व्यापार गरेका उनी भन्छन्, ‘दिनको ७÷८ हजारको व्यापार हुन्थ्यो । यहाँ आएपछि सबै भताभुङ्ग भयो ।’ तैपनि त्यसपछि आफू फर्किएर फुटपाथमा नगएको उनले बताए । हाटबजारमा खाजामात्र नबिक्ने भएर जुत्ता, चप्पलमा पैसा हालेको उनले बताए । यही सस्तो बजार पनि बन्दैछ भन्ने हिसाबले यहाँ प्रतीक्षा गरी बसिरहेको सुनाए ।
अझै पनि फुटपाथमा व्यापार गरिरहेकाहरूलाई हाटबजारमा गएर व्यापार गर्न सुझाउँदै मेयर रेनुका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी भन्छन्, ‘एउटा वडामा दुईवटासम्म हाट बजार लाग्छ ।’ फुटपाथको व्यवसाय असभ्य देखिने हुँदा यसलाई निरुत्साहित नै गर्नुपर्ने उनको भनाइ छ । फुटपाथका व्यवसायीबाट जफत गरिएको फलफूल सरकारी अस्पतालका बिरामी, मानवसेवा आश्रममा बस्नेहरू र कारागारका कैदीलाई लगेर वितरण गर्ने गरिएको उनले बताए । लत्ताकपडाचाहिँ लिलाम गर्ने गरिएको छ ।
फुटपाथको व्यापारले मात्र होइन, सडकपेटीमा मोटरसाईकल चलाउने र अव्यवस्थित रूपमा गरिने पार्किङले पनि बजारक्षेत्र कुरूप र सडकपेटीमा हिँड्नेहरूलाई समस्या भइरहेको देखिन्छ । अहिले बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने चारपाङ्ग्रे सवारीलाई ट्राफिकले ह्वील लक गरेर जरिवाना तिराई कारबाही गर्ने गरेको छ । बिस्तारै त्यस्ता मोटरसाइकललाई पनि कारबाहीको दायरामा ल्याएर बजार क्षेत्रलाई व्यवस्थित पारिने बताइएको छ ।
टिप्पणीहरू