सरकारद्वारा गोरखापत्रसँग स्पष्टिकरण
प्रजातन्त्र दिवसको दिन फागुन ७ गतेदेखि तामझामसहित आफूसँग छापाखाना नभए पनि उपत्यकाबाहिरबाट छापिन थालेको सरकारी मुखपत्र गोरखापत्रले निजी क्षेत्रका अखबारको भर पर्दा मन्त्रालयको ठाडो स्पष्टिकरण भेटेको छ ।
गोरखापत्रको नेपालगञ्ज संस्करण प्रकाशित गर्नका लागि आफ्नै प्रेस नभएका कारण उसले अन्नपूर्ण पोष्ट र नागरिक दैनिकसँग समेत कोटेशन मागेर कोहलपुरस्थित नयाँ पत्रिकाको छापाखानाबाट प्रकाशन गर्दै आएको थियो । यसक्रममा चैत २ गते एउटा घटना भयो । प्रेसम्यान काम गर्दागर्दै दुर्घटनामा परे र अस्पतालको आइसियुमा भर्ना भए । यता, प्रेसमा गोरखापत्र छापि“दै थियो । दुर्घटना परिरहँदा उनका सहायकले मेसिनबाट नयाँ पत्रिकाको एउटा प्लेट निकाल्न भ्याएका थिएनन् । अटोमेटिक सिष्टमको प्रेसले गोरखापत्रको एउटा पृष्ठमा नयाँ पत्रिकाको विज्ञापन पेज छापिदियो । भोलिपल्ट सरकारी मुखपत्रमा निजी क्षेत्रको पत्रिकाको विज्ञापन र लोगो देखेपछि हंगामा र आफैंभित्रबाट उजुरबाजुर हुने नै भयो । कुरा पुग्यो, सञ्चार मन्त्रालयमा । हिजोदेखि गोरखापत्रको बाह्र बजिरहेको छ, स्पष्टिकरण दिँदादिँदा ।
नयाँ पत्रिकाले कोहलपुरमा गोरखापत्र छपाई गर्दा प्रतिपत्रिका १६ रुपैयाँ र दि राइजिङ नेपालको प्रतिपत्रिका १४ रुपैयाँ लिने गर्दछ । तर, बजारमूल्य भने प्रतिपत्रिकाको १० मात्रै हो । विज्ञापनबिना पत्रिकाको मूल्य पठाउन असंभव छ ।
टिप्पणीहरू