यात्रुलाई राजमार्गमा लुटिन्छ यसरी

यात्रुलाई राजमार्गमा लुटिन्छ यसरी

गर्मी चढ्दैछ, अब चिसो खोज्ने बेला भएको छ । कोल्ड ड्रिंक्स पिउने हुनुहुन्छ भने होशियार ! पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकाले चैत्र ६ र ७ गते गरेको बजार अनुगमनका क्रममा बढीजसो हल्का पेय पदार्थहरु म्याद गुज्रिएको पाइए । त्यसमा पनि सबैभन्दा बढी म्याद नाघेको फ्यान्टा भेटियो । लगभग सबैजसो होटल–रेष्टूरेन्ट तथा पसलहरुमा रहेका फ्यान्टा म्याद नाघेकै थिए । त्यसपछि स्प्राइट, कोकाकोला अनि कतै कतै माउन्टेन डिउको पनि डेट सकिएको थियो । अनुगमनका क्रममा म्याद नाघेको भेटिएका जति सबै पेय पदार्थ नष्ट गरिए । कुनै–कुनै पसलमा पाइनाप्पल जुस, ग्रिन चिल्ली सस, टुबोर्ग न्यू क्वालिटी भिनेगर, किन्ले सोडा, लिची जुस, मिल्की स्टीक चकलेट पनि म्याद गुज्रिएको फेला परे भने कतै कतै भुजा, बिस्कुट र हर्लिक्स पनि म्याद नाघेको थियो ।

प्रायः साना होटलहरुमा पकाइएका चना, जेरी, समोसा, दुनोट, पकौडा जस्ता खानेकुराहरु खुल्लै राखेको देखियो । छोपेपनि धेरैले पत्रिकाले छोप्ने, पत्रिका माथि नै पकवान राख्ने गरेको देखियो । पकाइएका चिल्ला खानेकुराहरु पत्रिकाले छोपेर राख्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञ बताउँछन् । यस्ता खानेकुराहरु पकाउने कराईमा तेल सबैजसो होटलहरुमा रहेको देखिन्थ्यो । उही तेल धेरैपटक प्रयोग नगर्न अनुगमन टोलीले व्यापारीहरुलाई सुझायो । मिष्ठान्न पसलहरुमा लड्डु तथा मिठाइहरु कहिलेदेखि बनाएर राखिएको हो ? त्यो नखुलाइकन त्यसै राख्ने गर्छन्, सामान्यतया एक हप्ता पछि त्यस्ता मिठाइहरु गुणस्तरहीन हुने अनुगमन टोलीमा खटिएका खाद्य विज्ञ (नागरिक कलेजका उपप्राध्यापक) ज्योति आचार्यले बताए । कुनै कुनै होटलहरुमा घरेलु मदिरा समेत राखेको भेटियो । त्यसो त बजारिया मदिरा पनि कतिपय होटल–पसलमा इजाजतविनै राखिएको थियो । उनीहरुलाई अनुमति लिएर मात्र मदिराको कारोबार गर्न भनिएको छ । अनुगमनको क्रममा कैयौं व्यवसाय विना दर्ता सञ्चालित पाइए । उनीहरुलाई नगरपालिका र सम्बन्धित निकायमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ । मूल्यसूची नभएका ठाउँमा मूल्यसूची राख्न अह्राइएको छ । लेबल नखुलाइएका खाद्यवस्तु नबेच्न सुझाइएको छ ।

गैंडाकोट–८ मा बसका यात्रुहरुलाई लक्षित गरी राजमार्गमा सञ्चालित मौलाकालिका होटल एण्ड रेष्टूरेन्टमा खाना–खाजाको मूल्य निकै चर्काे पाइयो । सादा खानाकै रु. २५०, चिकेन खाना त रु. ३५०, भेज चाउमिनको रु. १५०, दुईवटा अण्डाको अमलेट बनाएको १०० रुपैयाँ । मूल्य बढी भएकोबारे होटल सञ्चालक गोपाल खनालले भने, ‘एसी हल छ, एयरकन्डिसनसहित खाना हो ।’ उक्त होटलमा भाँडा माझ्ने ठाउँ पनि किचनमै थियो । गत दशैंताका जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन हुँदा पनि किचनबाट जुठ्यान हटाउन भनिएको रहेछ तर नसुधारिएको । अब केही दिनमै त्यो सुधार्ने होटल सञ्चालकको भनाइ छ । अनुगमन टोली पुग्दा त्यस होटलबाहिर तीनवटा ठूला बस रोकिएका थिए । भित्र यात्रुहरु खचाखच खाना–खाजा खाँदै थिए । बाहिर रहेका एकजना यात्रु रामचन्द्र काफ्लेले त्यहाँको महँगीबारे भने, ‘यो त लुटाइ हो, यस विषयमा मिडियाले लेख्नुपर्छ, सरकारले ध्यान दिनुपर्छ ।’ सो सम्बन्धमा अनुगमनको नेतृत्व गर्ने गैंडाकोट नगरपालिकाकी उपमेयर, उपभोक्ता हित संरक्षण समिति संयोजक विष्णुकुमारी कंडेलले होटल व्यवसायी संघ र उद्योग वाणिज्य संघसित कुरा गरेर मूल्य समायोजन गर्न लगाइने बताइन् ।

अघिल्लो दिन गैंडाकोट–२, पुलचोक तलको बस्तीमा केही घरपरिवारले बंगुर पालन गरिरहेको समेत निरीक्षण भयो । त्यहाँको दुर्गन्ध झण्डै सय–डेढ सय मिटर उतासम्मै फैलिरहेको पाइन्छ । त्यसबारे स्थानीयले नगरपालिका कार्यालयमा गुनासो गरेका रहेछन् । अनुगमन टोली पुग्दा कसैको बंगुरखोरमा सरसफाइ ठिकै थियो भने कसैको खोरमा अत्यधिक फोहोर देखियो । यसरी बस्तीको बीचमा बंगुर नपाल्दा राम्रो हुने सुझाव तत्काल अनुगमन टोलीले बंगुरपालकहरुलाई दियो भने उनीहरुले पनि बिस्तारै आफ्ना बंगुर बेच्दै हटाउने बताए । यसबारे वडाअध्यक्षसहित बंगुरपालकहरुसित छुट्टै छलफल नै गरेर समस्या समाधानको उपाय खोजिने नगरप्रतिनिधि बताउँछन् ।

दुई दिन लगाएर गैंडाकोट–२ को पुलचोकदेखि मौलाकालिका फेदी, भृकुटीचोक, कालीगण्डकी चोक, कांग्रेसचोक, कालिकाचोक, थुम्सी, भेंडाबारी, बेल्डिहा हुँदै १६ नं. चोक, अमरापुरीसम्म विभिन्न होटल–रेष्टूरेन्ट, थोक तथा किराना, मेडिकल हल, सुनचाँदी पसल लगायत मासु पसलमा पनि अनुगमन भएको थियो । अनुगमन टोली आएको थाहा पाएपछि गैंडाकोट–४ स्थित गृष्मा इन्टरप्राइजेज तत्काल बन्द गरेर पसले गएको वरपरका मानिसहरुको भनाइ थियो । छरिएर अनुगमन गर्दा अनुगमन टोलीका सदस्यहरुले कतै–कतै लामो समयदेखि फ्रिजमा राखिएको–बिग्रेको अवस्थाका मासु र माछासमेत नष्ट गरेको बताइन्छ । औषधि पसलहरुमा अहिलेको अवस्थामा मास्क र सेनिटाइजर उपलब्ध हुनु, म्याद गुज्रिएका औषधि नभेटिनु राम्रो पक्ष भएको अनुगमन टोलीका सदस्य नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले बताए । कोरोनाको सङ्कटकालीन यसावस्थामा खाद्यान्न र खाना पकाउने ग्यास बेच्ने पसलेहरुलाई एउटै ग्राहकलाई बढी नबेच्न निर्देश गरिएको छ । गैंडाकोटमा स्थानीय सरकारको तर्फबाट गरिएको पहिलो बजार अनुगमन हो यो । अनुगमन टोली खासै कडा ढङ्गले प्रस्तुत नभएर नम्र रुपमा प्रस्तुत भएको थियो । अहिले कारबाही भन्दा पनि व्यवसायीहरुलाई सचेत गराउने हिसाबले अनुगमन भएको गैंडाकोट नगरपालिकाका अनुगमन शाखा प्रमुख पुष्पराज शर्मा बताउँछन् । अहिले छुटेका ठाउँहरुमा अर्काेपटक अनुगमन गर्ने बताउँदै अहिलेका ठाउँमा पछि दोहो¥याएर पनि अनुगमन हुने, कमजोरी नसच्याएका व्यवसायीलाई त्यतिबेला कारबाहीको दायरामा समेत ल्याइने उनले बताएका छन् ।

अनुगमन टोलीमा गैंडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति सदस्यहरु रमेश भट्टचन, ज्ञानप्रसाद खनाल, हरिलाल सापकोटा, कृषि अधिकृत राजुप्रसाद शर्मा, पशु चिकित्सक प्रमोद पौडेल, पशु सेवा शाखा अधिकृत रमेश ज्ञवाली, नागरिक कलेजकी विद्यार्थी प्रतिनिधि सोनिला गौतम, जिल्ला प्रशासन कार्यालयका नासु खुमबहादुर बस्नेत, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लेखनाथ सिग्देल लगायत केही पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

– अजय गोर्खाली

 

टिप्पणीहरू