सिम टिभीको नाफामुखी सेवा

सिंगो देश लकडाउनमा छ । मानिसहरु कोरोनाबाट बच्न घर–घरमा लुकेर बस्नुपरेको अवस्था छ । यस्तो बेला मानिसलाई सूचना र मनोरञ्जनको आवश्यकता बढी नै पर्दछ । दैनिक ज्याला मजदूरी गरेर छाक टार्दै आएकाहरुलाई अहिले काम गर्न नपाएको अवस्थामा विभिन्न संघ–संस्था र व्यक्तिहरु समेत खाद्यान्न सहयोग गर्न अग्रसर भइरहँदा केवल सेवा प्रदायक कम्पनीले भने जनताको सेवालाई बेवास्ता गर्दै आफ्नो नाफालाई मात्र ध्यान दिएको पाइएको छ । सूचना तथा सञ्चार प्रविधिसँग जोडिएका कम्पनीहरुले निःशुल्क पनि सेवा दिनुपर्ने बेला हो यो ।

तर आफूलाई नेपालकै नम्बर १ डिजिटल केवल नेटवर्क बताउने सिम टिभीले यतिबेला पनि सेवा रोकिदिएर सेवाग्राहीलाई सूचना र मनोरञ्जनबाट विमुख गरिदिएको छ । सिम टिभीका थुप्रै सेवाग्राही छन् । तीमध्ये भरतपुर–३ निवासी रविकान्त गुप्ता पनि एक हुन् । आजै (चैत्र १६ गते) उनको सिम टिभीको रिचार्ज सकियो । रिचार्ज सकिनेबित्तिकै सिम टिभीको सेवा पनि बन्द भयो । अरु बेला जस्तो सामान्य अवस्था होइन अहिले । राष्ट्रिय–अन्तर्राष्ट्रिय संकटको बेला हो । ‘घरबाहिर निस्केर हिँड्न पाउने अवस्था छैन । त्यैपनि रिचार्ज किन्ने पसल नै बन्द छ । यस्तो बेला रिचार्ज सकिँदैमा सिम टिभीले सेवा रोक्न नहुने’, रविले भने, ‘सूचनाबाट वञ्चित भइयो ।’

सिम टिभीको राष्ट्रिय नम्बर १६६०–०१–४४००० (एनटिसी) मा कल गर्दा फोन उठ्दैन । एनसेल नम्बर ९८०१५७५७०३ मा त फोन नै लाग्दैन । चितवन, भरतपुरकै नम्बर ०५६–५३३२८६ मा फोन गर्दा पनि उठ्दैन । पछि इ–सेवाबाट रिचार्ज गरेपछि मात्रै सिम टिभीले सेवा दिएको रविले बताए ।

टिप्पणीहरू