३४ करोडका स्वास्थ्य सामग्री किन्दै विभाग

साता दिनअघि ओम्नी समूहसँगको सम्झौता रद्ध गरेको विभागले आजै मात्र ३४ करोड हाराहारीको मेडिकल सामाग्री खरिदका लागि टेण्डर नोटिस जारी गरेको हो ।

स्वास्थ्य सेवा विभागले झण्डै ३४ करोड बराबरको मेडिकल सामाग्री खरिदको लागि टेण्डर आह्वान गरेको छ । साता दिनअघि ओम्नी समूहसँगको सम्झौता रद्ध गरेको विभागले आजै मात्र ३४ करोड हाराहारीको मेडिकल सामाग्री खरिदका लागि टेण्डर नोटिस जारी गरेको हो ।

सूचनामा विभिन्न २३ प्रकारका मेडिकल सामग्री खरिदलागि टेण्डर आह्वान गरिएको छ । साता दिनको समय सीमा तोकिएको छ । यस अघि विभागले गत ११ चैत्रमा टेण्डर नोटिस खोलेको थियो । नोटिस खोलेको तीन चार घण्टा नबित्दै विभागले ओम्नी समूहलाई १ अर्वभन्दा बढीको मेडिकल सामाग्री खरिदका लागि टेण्डर दिएको थियो । ओम्नी समूहले ल्याएका मेडिकल उपकरण र सामाग्रीहरु झण्डै ४७ गुणासम्म मंहगोमा खरिद गरेको भेटिएसँगै यो बिषय चर्काे आलोचना भयो । पछि विभाग आफ्नो कदमबाट पछि हट्न बाध्य भयो । 

अघिल्लो सातामात्र ओम्नीसँगको सम्झौता रद्ध गरेको थियो । यो प्रक्रिया विवादमा परेसँगै सरकारले सरकार सरकार (जिटुजी मोडल)मा मेडिकल सामाग्री खरिद गर्ने सरकारको निर्णय थियो । यसको जिम्मा नेपाली सेनालाई दिइसकेको अवस्थामा विभागले फेरि मेडिकल सामाग्री खरिदका लागि दोश्रो पटक टेण्डर आह्वान गरेको छ । यी सबै घटनाका पछि स्वास्थ्य सेवा विभागका हाकिम डा महेन्द्र श्रेष्ठ सक्रिय छन् । उनकै सक्रियतामा यो टेण्डर नोटिस निस्किएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । स्मरण रहोस महेन्द्र केही महिना अघि मेडिकल माफिया विशाल पण्डितहरुकै सक्रियतामा विभागको प्रमुख बनेका व्यक्ति हुन् ।

 

टिप्पणीहरू