कसले भुल्न सक्छ र आमा–बुबासँग बिछोडको पल

कसले भुल्न सक्छ र आमा–बुबासँग बिछोडको पल

सिमोन ग्रोनोवस्कीको जन्म बेल्जियममा भयो । बुबा लियोन पोल्याण्डबाट सन् १९२० मा बेल्जियम पुगेका हुन् । आमा चाना काप्लान लिथुआनियाकी भए पनि बिहे सिमोनसँग सन् १९२३ मा भयो । सिमोनकी एक दिदी थिइन् इटा । लियोनले ब्रसेल्समा एक टुक्रा घडेरी किनेर सानो घर बनाए । भुइँतलामा सिमोनकी आमाले छालाको सामान बेच्ने पसल थापिन् । लियोन थोकमा सामान किनेर घुम्दै फिर्दै खुद्रामा बेच्न जान्थे ।

सन् १९४१ मा सिमोनकी दिदीले कलेज पढ्न थालिन् भने सिमोन ५ कक्षामा इटरबिक स्कुलमा भर्ना भए । सिमोन स्काउटमा पनि संलग्न रहे । जीवन सुखसँग बितिरहेको थियो । युरोपमा हिटलरको उदय भइसकेको थियो । जताततै उनको क्रूरताको चर्चा चुलिँदा यहुदीहरू त्राहिमाम थिए । सन् १९४२ को सेप्टेम्बरमा ब्रसेल्समा पनि नाजीहरूले हलचल मच्चाए । यहुदीलाई खोज्दै पक्रन थाले । कैयौंको ज्यान गयो । धेरैलाई दास बनाए । सिमोनहरू पनि यहुदी नै थिए । ज्यान बचाउँदै नजिकैको एउटा अपार्टमेन्टमा लुक्न गए । त्यहाँका भूमिगत तलामा थुप्रै यहुदी लुकी बसेका थिए । उनीहरू निकै दिन त्यहीँ बसे ।

सन् १९४३ मार्च १७ को बिहान । सबैजना नास्ता खाइरहेका थिए । सिमोनका बुबा भने अस्पतालमा थिए । ९ बजे एक्कासी सादा पोशाकमा गेस्टापो (जर्मन खुफिया प्रहरी) का जवानहरू भित्र पसे र सिमोन, उनकी आमा, दिदीलगायत ५० जनालाई पक्रेर लगे । नजिकै लुइसालानमा स्थापित गेष्टापोको शिविरमा लगी भूमिगत तलामा राखे । भोलिपल्ट साँझ अर्को शहर मेचेलेन पु¥याए । ब्यारेकमा सिमोनले संकेत नम्बर १२३४ र आमाले १२३३ नम्बर पाए । डोसान ब्यारेकमा करिब १ महिना राखेपछि आमा, छोरालाई अन्त लगियो । दिदीलाई भने अन्त लगिनेमा राखिएन । त्यो बेला सिमोनको उमेर मात्र १२ थियो ।

अप्रिल १९ को बिहानैदेखि त्यहाँ यहुदीलाई चौरमा लाइन बस्न लगाइयो । साँझ सिमोन र उनकी आमासहित ५० जनाजतिलाई गाईभैंसी ओसार्ने जिपमा कोचियो । जिप रेल्वे स्टेशनतर्फ हुइँकियो । पोल्याण्डस्थित औस्चविच ग्यास च्याम्बरमा लान बेल्जियमबाट रवाना भएको उक्त रेलमा १६३१ यहुदी थिए । सिमोन सानै थिए, त्यसैले उनलाई मार्न कतै लगियो वा कैद गर्न कुनै ज्ञान थिएन । रेल हिँडेको केहीबेरमा अचानक रेल रुक्यो । सिमोनले जर्मन भाषामा कोही चिच्याएको र गोली चलेको आवाज सुने । रेल बुर्तमिर्बीकमा पुग्दा नाजी विरोधीहरूले आक्रमण गरी १७ जनालाई भगाउन सफल भएछन् । उक्त आक्रमण रोबर्ट माइस्ट्रु, युरा लिब्सचित्ज र जिन फ्रेन्कलिनको नेतृत्वमा भएको थियो । उनीहरू तीनै जना बेल्जियमका थिए र नाजी आधिपत्यको विरुद्ध सशस्त्र संघर्ष गर्दै थिए ।

यति हुँदा पनि बाहिर के भइराखेको छ भन्नेमा सिमोन बेखबर थिए । उनी आमाको काखमा शीर राखेर पल्टिरहेका थिए । यसबीच आमाले ‘ल छिटो उठ’ भनिन् । सिमोनले आँखा खोलेर हेर्दा यात्रीहरू झ्यालबाट हाम्फाल्दै थिए । सिमोनलाई पनि आमाले हात समातेर तान्दै ढोका नजिक लगिन् अनि विस्तारै फलामे पातामा खुट्टा राख्न लगाइन् । सिमोनले बायाँ हातले रेलको बार समाए भने दायाँ हातले भुइँ टेके । आमाचाहिँले १ सय फ्रयांकको नोट थमाइन् र रेलबाट हाम्फाल्न भनिन् । उनी रेलबाट हाम्फाल्नेवाला थिए, तर आमाले कमिजको कलर च्याप्प समाइन् किनभने रेल तीव्र गतिमा दौडिराखेको थियो । र, भनिन् ‘गति तेज छ ।’

एकछिनपछि गति कम भयो, उनले ‘आमा, अब म हाम्फाल्न सक्छु ? भने । उनले छोरोलाई हाम्फाल्न मद्दत गरिन् । सिमोन तल बसेर आमाको प्रतीक्षा गरे । तर, अचानक रेल फेरि रोकियो । दनादन गोली चल्यो र जर्मन भाषामा चिच्याएको आवाज सुनियो । उनले एकपटक रेलभित्र आमाको स्थिति हेर्न जाने मन बनाए तर त्यत्तिकैमा जर्मन सैनिक बन्दुक तेस्र्याएर आफूतिर आइरहेको देखे । उनले आमा र आफू दुबैजना पुनः उनीहरूको हातमा पर्ने देखे र भागेर जंगल पुगे । रातभर रुखको छहारीमा बसे । बर्खाको समय राति ठूलो पानी प¥यो । पूरै जिउ माटोको हिलोले ढाकियो । बिहानको झिसमिसेमै त्यहाँबाट पूर्वतर्फ हिँडेर बर्लिङेन नामक सानो गाउँमा पुगे । एउटा घरको ढोकाको घण्टी बजाउन पुगे ।

तर, घरका महिलाले गाउँकै प्रहरीकोमा सुम्पिदिए । प्रहरी जवान जुल्स भानले काउन्टीको प्रहरी जीन आर्ट्सकोमा लगे र रेल्वे स्टेशन पु¥याए, त्यहाँ तीनजनाको लाश थियो, जसमध्ये एकजना भर्खरकी युवतीको थियो । ती तीनै जना उनी सवार रेलकै यात्रु थिए । जीनले उनलाई भने, ‘चिन्ता नगर, हामी तिमीलाई केही गर्दैनौं, किनभने हामी पनि तिमीजस्तै बेल्जियमकै हौं ।’

सिमोनलाई रुन मन लाग्यो । जीनको अँगालोमा क्वाँक्वाँ रोए । आफ्नी आमाबारे बताए । जीनले उनलाई अर्डिङेन स्टेशन लगे । उक्त स्टेशन सिन्टत्रुडेनको नजिक पथ्र्यो । सिमोन त्यसपछि रेल चढेर स्चारबीकतर्फ लागे । साँझ आफ्नो घर पुगे । तर, कहिले कसको त कहिले कसको घरमा लुक्दै बसे । यो कार्य बेल्जियम जर्मनीबाट मुक्त नहुञ्जेलसम्म (सन् १९४५ को फेब्रुअरी) जारी रह्यो । सिमोनले आमालाई कहिल्यै भेट्न सकेनन् । दिदीचाहिँलाई पनि सन् १९४३ को सेप्टेम्बर २० मा अर्कै समूहसित अन्तै पठाइएको रहेछ, अतः दिदीलाई पनि कहिल्यै देखेनन् ।

पछि मात्र थाहा पाए कि आमा र दिदीलाई उही औस्चविच यातना शिविरमा लगिएको रहेछ । स्मरणीय छ, उक्त शिविरमा लगिएका ७० प्रतिशत महिलालाई ग्यास चेम्बरमा हालेर मारेको थियो । जर्मनीले औश्वित्जमा मात्र युरोपको विभिन्न मुलुकबाट समातिएका १३ लाख यहुदीलाई थुनेको थियो । जसमध्ये ११ लाखलाई ग्यास च्याम्बरमा हुलेर मारियो । तीमध्ये ९ लाख ६० हजार त यहुदी नै थिए । तिनीहरूमध्ये पोल्याण्ड, रोमानिया र सोभियत संघका धेरै थिए ।

मारिएकामा सोभियत युद्धबन्दी पनि थिए । युद्धको अन्तिम समयमा उक्त शिविरका कैदी बन्दीलाई रुसी सेनाले नै मुक्त पारेका थिए । रुसी सेना शिविरमा सन् १९४५ को जनवरी २७ मा प्रवेश गरेका हुन् । पत्नी र छोराछोरीलाई नाजीहरूले पक्रेर लगेपछि दुखी बनेका बाबु लियोनको पनि सन् १९४५ को जुलाईमा मृत्यु भयो । सिमोन यतिखेर बेल्जियममै छन् । ९० वर्षको भैसकेका छन् । पेशाले पियानो बादक हुन् । दोश्रो विश्वयुद्धकालमा नाजीहरूद्वारा सताइएका यहुदीहरूको संगठनको अध्यक्ष छन् ।

सिमोन र आमा चढेको रेललाई बीच बाटोमै रोकेर यात्रुलाई भगाउने युरा लिव्सचित्ज पछि पक्राउ परे । र, फाँसीको सजाय पाए । जीन फ्रेन्कलिन पनि पक्राउ परे । उनलाई यातना शिविरमा पठाइयो । उनी सन् १९४५ को मेमा मात्र रिहा भए । उनको निधन सन् १९७७ मा भैसकेको छ । तेस्रो हस्ती रोबर्ट माइस्टु, पनि सन् १९४४ मा पक्राउ परे । मुलुक स्वतन्त्र भएपछि मात्र रिहा भए । उनको पनि सन् २००८ मा निधन भैसकेको छ । त्यसै गरी सिमोनलाई सहयोग गरेका प्रहरी जवान जीन आर्ट्स इजरायल राज्यको स्थापना पछि जेरुसेलममा आयोजित एउटा कार्यक्रममा ‘असल गैर यहुदी’ को उपाधिबाट सम्मानित भए ।

क्याप्सन ः सिमोन आफ्ना आमा बुबास“ग

टिप्पणीहरू