दिदी भन्दै सर्वस्व लुटेका सिद्धार्थले यसकारण रोजे मंगलबार

दिदी भन्दै सर्वस्व लुटेका सिद्धार्थले यसकारण रोजे मंगलबार
सुन्नुहोस्

एकल महिलालाई साढे तीन वर्षदेखि साथी बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्दै आएका बुटवलका सिद्धार्थ गुरुङलाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको छ । सिद्धार्थ विगत २७ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 

उनलाई प्रहरीले अस्ति पेश गर्ने तयारी गरेपनि सिद्धार्थको इच्छा अनुसार आज मंगलबार पेश गरिएको हो । मंगलबार सिद्धार्थको निम्ति राम्रो र चिताएको सबै पूरा हुने बार भन्दै उनले प्रहरी र सरकारी वकिललाई गरेको अनुरोधबमोजिम आज अदालतमा पेश गरिएको हो । प्रहरीले उनलाई अस्ति नै सरकारी वकिल कार्यालय पेश गरेको थियो । 

यता सिद्धार्थका नजिकका साथीहरुले पीडित ‘भैरहवा ५३’ को पक्षमा बहस गर्ने तयारी गरिरहेका वकिलहरुलाई भेटेर बहस पैरबी नगरिदिन आग्रह गरेको बताइन्छ । कतिपयलाई आग्रह र केहीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको बुझिएको छ । 

उनले एकल महिलालाई मायाजालमा पारेर, गोप्य भिडियो बनाई त्यसबाट स्वार्थपूरा गर्दै आएका थिए । बारम्बार जबरजस्ती करणी गरेको थाहा पाएपछि रुपन्देहीका धेरै महिला अधिकारकर्मी तथा अभियन्ताहरुले सिद्धार्थलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । पीडक पक्षको दबाबमा पनि महिला, बालबालिका तथा असहायको क्षेत्रमा निशुल्क बहस पैरबी गर्ने व्यवसायिक कानुन व्यवसायीहरुले पीडितको पक्षमा स्वतःस्फूर्त बहसको तयारी गरेका हुन् । 

सिद्धार्थले पीडित महिलालाई बूढी, बेबी भन्दै गरेका म्यासेज समेत प्राप्त भएका छन् । उनले पीडितलाई दिदी बाहेक अरु नसोचेको बताइरहँदा विगतमा उनले पठाएको मेसेजले नै अन्यथा अर्थ लगाइदिएको हो ।

काठमाण्डौंको होप फर्टिलिटी सेन्टरमा सिद्धार्थ र पीडित महिला श्रीमान श्रीमतिको रुपमा सँगै गएर सिद्धार्थको शुक्रकीट समेत चेकजाँच गराएको कागजात प्राप्त भएको छ । यसरी श्रीमतीको सम्बन्धसँगै बच्चा जन्माउन सरोगसी प्रविधि अपनाउनेगरी एकल महिलालाई लिएर आफ्नो शुक्रकीटको चेकजाँच गराएका सिद्धार्थले पछिल्लो समय पीडित भैरहवा ५३ दिदी मात्रै भएको प्रहरीसँगको लिखित बयानमा उल्लेख गर्नुलाई नैतिक विचलनको रुपमा अथ्र्याइएको छ ।

पीडक पक्षका वकिलले सिद्धार्थलाई सके साधरण तारेख नभए धरौटीमा छुटाउने आश्वासन दिँदै आएका छन् । जिल्ला अदालत रुपन्देहीको न्यायिक बेञ्चले एकल महिलालाई झुक्यानमा पारी, नियतवश, योजनाबद्ध मायाजालमा पारेर फोटो तथा भिडियो मार्फत् सबै खालको स्वार्थपूर्ति गर्दै आएका सिद्धार्थ छुट्लान् वा जेल जालान त्यो भने साँझसम्ममा थाहा हुनेछ ।

यो पनि....... 

१. एकल महिला पीडामा, पीडक सुविधाजनक क्याबिनमा
 

 

टिप्पणीहरू