पर्दा पछाडि बसेकालाई सीताको चेतावनी : आँट भए सार्वजनिक हुनु

पर्दा पछाडि बसेकालाई सीताको चेतावनी : आँट भए सार्वजनिक हुनु
सुन्नुहोस्

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले पर्दा पछाडि बसेर अरुमाथि हिलो छ्याप्ने र बिना प्रमाण चरित्र हत्या गर्नेलाई आँट देखाउँदै सार्वजनिक हुन आग्रह गरेकी छन् । उनले एनआरएनए बेल्जियमको औपचारिक कार्यक्रममा भएका बहस र छलफललाई बंग्याएर नेतृत्वको चरित्रहत्या गर्ने आसयले प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो काममा लागेकालाई परिचय खुलाएर मैदानमा आउन चुनौती दिएकी हुन् ।

बेल्जियमबाट सीताले जनआस्थालाई पठाएको पत्रमा लेखिएको छ, ‘हुँदै नभएका कुराहरुलाई उचालेर म र एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष तथा अनुसासन समितिका संयोजक समेत रहनुभएका आदारणीय प्रेम गुरुङज्यूको फोटोसँगै निच ढंगले रचिएको समाचारको घोर भत्र्सना गर्दछु ।’ उनले प्रवासमा बसेर अनेक ढंगको शिकार खेल्न पल्केकाले आफ्नो असली रुप छोप्न अरुलाई हिलो छ्याप्ने षड्यन्त्र स्वरुप पछिल्लो हतकण्डा मच्चाएको बताइन् ।

जनआस्था डट कममा भदौ ७ गते प्रकाशित ‘बेल्जियममा सीताको मनपरी, बुथ क्याप्चर गर्नेलाई अनुशासनको भारी’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीताले टेलिफोनमा भनिन्,बेल्जियम देखी लण्डनसम्म अनेक भाँडभैलो, खेलोफड्को गर्ने, विभिन्न स्वार्थप्रेरित काममा लिप्त केहीले आफ्नो नौटंकीको पर्दाफास नहोस् भन्ने उद्देश्यले विषयान्तर गर्दै मलाई हिलो छ्यापेका हुन् । मेरा संस्थागत सबै कामहरु पारदर्शी छन्, संगठन बिधी बिधान, प्रक्रिया र पद्धतीभित्र रही अनुशासित तवरले चलाएका छौ ।’ उनले संगठन व्यक्तिले नभएर विधिले चल्ने जनाउँदै व्यक्ति अनुसासन बाहिर गएर संगठनमा मनपरी गर्न खोजे स्वतः अनुशासनको दायरामा आउनैपर्नेमा उनको विश्वास छ । सापकोटाले सोधेकी छन्, ‘एनआरएनएका पूर्व अध्यक्ष तथा अनुसासन समितिका संयोजक गुरुङले बुथ कब्जा गरेको भन्ने निराधार समाचार र सीता सापकोटाले सबै संस्था फुटायो भन्ने हास्यास्पद समाचारको कुनै आधार छ ?’ प्रमाण पेश गर्न चुनौती दिएकी छन् । एनआरएनए बेल्जियम लाई पारदर्शी ढंगले चलाएको जान्न र हेर्न चाहनेलाई सँधै स्वागत गर्न आफू तयार रहेको बताइन् । 

उनी बेल्जियम बसेको २५ वर्ष भएको छ । आफूबारे बेल्जियमको नेपाली समुदायलाई राम्रोसँग थाहा भएको तर बेलायतलगायत अन्य मुलुकको नेपाली समुदायका कतिपयलाई जानकारी नहुनु कुनै अनौठो नभएको सापकोटा बताउँछिन् । बेल्जियमको नेपाली समुदायको सेवा गर्न पछिल्लो पदीय जिम्मेवारी (गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियम) त्यहाँको नेपाली समुदायको भरोसा र मन जितेर प्राप्त भएकोमा दुई मत नरहेको बताइन् । ‘मत पाएर, निर्वाचित भएर आएको हुँ, सकेको राम्रो सेवा गरेकै छु तर नराम्रो केही गरेको छैन,’ उनले उल्लेख गरिन् ।

नेपाली जनसम्पर्क समितिलगायत नेपाल र बेल्जियमका विभिन्न संघसंस्थामा भाँडभैलो मच्चाएको भनिए पनि विषय तोकेर भन्न नसक्नुले आफूमाथि कसैले रिसबी र आक्रोश पोखेको उनको दाबी छ । दशकौंदेखि परदेशमा नेपाली समुदायको हितमा दत्तचित्त भएर लागेको महिलालाई कोठाभित्र बसेर षड्यन्त्र रच्दै आएका स्वःघोषित अभियन्ताहरुले आरोप लगाउँदैमा केही नहुने दृढता पनि सापकोटाले जनआस्थासँगको कुराकानीमा व्यक्त गरेकी छन् ।

एनआरएनए बेल्जियमभित्र कसैलाई काखा र पाखा नगरेको उनको भनाई छ । ‘अरुका के कस्ता स्वार्थ छन् मलाई थाहा भएन । मेरो चाँही आफूले नेतृत्व गरेको संस्थालाई तोकिएको नियम, कानुन, कार्यविधिभित्र बसेर अघि बढाउने योजना छ । सहज ढंगले अघि बढिरहेको संस्थालाई छिन्नभिन्न पार्ने उद्देश्यले कुत्सित मनसायका साथ युरोपकै अन्य मुलुकमा रहेकाले बेल्जियममा चलखेल गर्न खोजेको आभाष मिलेको छ,’ उनले भनिन्, ‘अगतिलो र नाजायज कूकर्मको कुनै दिन त्यस्ताले सजाय भोग्नैपर्छ । राम्रो उद्देश्यले काम गरुञ्जेल म चाँही डराउँदिन ।’ 

१९ अगष्टका दिन भएको गैरआवासीय नेपाली संघ बेल्जियमको १८औं वार्षिक साधारणसभाबारे सोधिएको जिज्ञासामा सापकोटाले समाचारमा लेखिएका सबै कुरा ‘फेक’ भएको दाबी गरिन् । ब्रसेल्समा भएको नियमित बैठक, छलफलको कुरो काठमाडौंसम्म पुर्याउनुअघि अन्यत्रका केहीले मलजल गरेर आफ्नाविरुद्ध हुँदै नभएको आरोप लगाएको उनी बताउँछिन् । भन्छिन्, ‘साधारणसभामा हुँदै नभएको कुरो लेख्न र भन्न अलिकति लाज लाग्नुपर्ने हो । मान्छे भएको भए त्यस्तालाई फिल हुन्थ्यो, मान्छेबाट तल गिरेकाले त्यसो गर्नुलाई अन्यथा भन्न पनि मिलेन ।’

यो पनि...

बेल्जियममा सीताको मनपरी, बुथ क्याप्चर गर्नेलाई अनुशासनको भारी

टिप्पणीहरू