धनराजले ‘डिभोर्स’ गरेपछि सहकारीको १५ करोड जोखिममा !

धनराजले ‘डिभोर्स’ गरेपछि सहकारीको १५ करोड जोखिममा !
सुन्नुहोस्

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र संसदीय समितिमा काँग्रेस उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योती गुरुङविरुद्ध १५ करोड रकम हिनामिना गरेको उजुरी दर्ता गराएका थिए । यद्यपि, यो विषय लामो समयसम्म बाहिर आएको थिएन । 

गतसाता संसदीय समितिले अध्यक्ष गुरुङलाई बयानमा बोलाएको र उनले पनि घटनाको बेलिविस्तार लगाएपछि धनराज दम्पति मुछिएका हुन् । ८२ वर्षीय कुम्भराजका अनुसार ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको अध्यक्षसँगै उनी कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

कोभिड महामारी (लकडाउन) मा धनराजकी पत्नी ज्योतीले पटक पटक गरेर सहकारीको १५ करोड रकम हिनामिना गरेको खुलेको उनको बयानमा उल्लेख छ । त्यतिबेला ज्योती सहकारीको तत्कालीन महाप्रबन्धक थिइन् । उनले रकम हिनामिना गरेको कुरा सहकारीको सञ्चालक समितिलाई थाहा भएपछि धनराजसँग पनि छलफल गरिएको कुम्भराजले बताएका थिए ।

त्यतिबेला बोर्ड बैठकमा धनराज र ज्योतीलाई बोलाएर छलफल गरियो । ज्योतीले आफ्नो गल्ती स्वीकारेपछि पति–पत्नीले पैसा फिर्ता गर्ने मौखिक सहमति गरेका थिए । उनका अनुसार धनराज र ज्योतीले त्यतिबेला उक्त रकम थाइल्याण्डको बैंककमा जाउआउ गर्ने एक व्यापारीलाई ऋण दिएको बताएका थिए ।

चार वर्ष भइसक्दा समेत पैसा फिर्ता नभएपछि आफूले उजुरी दिन बाध्य भएको कुम्भराजको तर्क छ । उनका अनुसार धनराजले ज्योतीसँग डिभोर्स गरेको खबर सुनाएपछि झन् पैसा फिर्ता हुने अन्योल बढेको हो ।

यो पनि...

रविले झैँ काँग्रेस उपसभापतिले पनि करोडौं हिनामिना गरेको रास्वपाको दाबी

टिप्पणीहरू